किशोर कुमार तामाङ : कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिप विकास तालिम केन्द्र र पुनर्वास नगरपालिकाको संयुक्त आयोजनामा पुनर्वासमा ४५ दिने झोला बनाउने सिप विकास तालिम सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा बोल्दै प्रशिक्षक चुलीराम चौधरीले तालिम अवधिभर सहभागीले झोला डिजाइन, कटिङ, सिलाइ तथा अन्तिम तयारी सम्बन्धी सीपहरू व्यवहारिक रूपमा सिक्न पाएको बताउनुभयो । साथै सहभागीहरूलाई बजारमा माग हुने विभिन्न प्रकारका झोला बनाउने तरिका, कच्चा पदार्थको छनोट, गुणस्तर व्यवस्थापन तथा स्वरोजगारका सम्भावनाबारे समेत प्रशिक्षण दिएको उहाँले बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्नुहुँदै सिप विकास तालिम केन्द्रका प्रतिनिधि शिवराज भट्टले स्थानीय तहसँग सहकार्य गरी व्यावहारिक र रोजगारमुखी तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । पालिकाको मागअनुसार नै विभिन्न पालिकाहरूमा विभिन्न फरक फरक किसिमका तालिमहरु उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमका क्रममा भोगेका चुनौती, सिकाइका अनुभव तथा अवसरबारे आफ्ना धारणा राख्दै जीवन उपयोगी सीप सिक्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनीहरूले यस तालिमबाट प्राप्त सीप प्रयोग गरी घर–गृहस्थी सहज रूपमा सञ्चालन गर्नुका साथै भविष्यमा आम्दानीको स्रोत बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तै कार्यक्रममा बोल्नु हुँदै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले तालिमले सहभागीहरूको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।  उहाँले सीपसँगै अनुशासन, निरन्तर अभ्यास र बजार पहिचान आवश्यक रहेको  बताउनुभयो ।

तालिम समापन समारोहमा बोल्नुहुँदै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निकाय, प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सीप विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार तथा उद्यमशीलता विकास गर्न नगरपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै कार्यक्रममा बोल्नुहुँदै पुनर्वास ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्तो तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । तालिम अवधिभर प्रशिक्षक चुलीराम चौधरीले झोला बनाउने सैद्धान्तिक तथा व्यवहारिक सीपमा सहजीकरण गर्नुभएको थियो ।