कञ्चनपुरको पुनर्वासमा समुदायस्तरमा बढ्दो नसर्ने रोगहरूको समयमै पहिचान, नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यका साथ १ महिने नसर्ने रोग स्क्रिनिङ अभियान सन्चालन गरिने भएको छ । पुनर्वासमा उक्त अभियान सन्चालन गर्नुअघि आवश्यक अभिमुखीकरण तथा माइक्रोप्लानिङ कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा अभियानको उद्देश्य, कार्यविधि, जिम्मेवारी बाँडफाँड, लक्षित समूह पहिचान तथा समुदायस्तरमा सेवा पुर्‍याउने रणनीतिबारे विस्तृत छलफल गरिएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले जानकारी दिनुभयो । यस अभियान मार्फत उच्च रक्तचाप (High Blood Pressure), मधुमेह (Diabetes), क्यान्सर, दीर्घ श्वासप्रश्वास रोग (COPD) तथा मिर्गौला रोग (Kidney Disease) जस्ता प्रमुख नसर्ने रोगहरूको प्रारम्भिक अवस्थामै पहिचान गर्नु रहेको उहाँले बताउनुभयो । यी रोगहरू दीर्घकालीन हुने, उपचार खर्चिलो हुने र समयमै पत्ता नलागेमा ज्यानै जाने जोखिम रहने भएकाले प्रारम्भिक स्क्रिनिङ अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो ।

उक्त अभियान पुनर्वास नगरपालिकाका अन्तर्गतका सबै ११ वटै वडाहरूमा समुदायस्तरमै सन्चालन गरिनेछ। अभियान अन्तर्गत घरदैलो कार्यक्रम तथा स्वास्थ्य शिविरमार्फत जोखिममा रहेका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगको जोखिम भएका समूहको स्वास्थ्य परीक्षण गरिने योजना रहेको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार नसर्ने रोगहरू प्रायः लक्षण नदेखिई विस्तारै बढ्ने भएकाले धेरैजसो अवस्थामा रोग जटिल अवस्थामा पुगेपछि मात्र थाहा हुने गरेको पाइन्छ । यस्तो अवस्थामा उपचार कठिन र खर्चिलो हुने भएकाले समयमै स्क्रिनिङ गर्न सकिएमा अकालमा हुने मृत्यु दर घटाउन तथा दीर्घकालीन जटिलता रोक्न ठूलो योगदान पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

यस अभियानमार्फत समुदायमा स्वास्थ्य सचेतना वृद्धि, जोखिम समूहको पहिचान, आवश्यक परामर्श तथा समयमै उच्च तहको स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था मिलाइनेछ । साथै, जीवनशैली सुधार, स्वस्थ खानपान, नियमित व्यायाम तथा धूम्रपान र मदिरा सेवन नियन्त्रण सम्बन्धी सन्देश पनि प्रवाह गरिनेछ।

स्थानीय तह, स्वास्थ्य संस्था, स्वयंसेवक तथा समुदायको सक्रिय सहभागितामा एक महिनासम्म यो अभियान सञ्चालन हुने पुनर्वास नगरपालिकाको नगरप्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो । यस अभियान मार्फत नसर्ने रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने र दीर्घकालीन रूपमा स्वस्थ समुदाय निर्माण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको टेक्निकल सेसन पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जयबन्धु अर्यालले गर्नुभएको थियो । अभिमुखीकरण तथा माइक्रोप्लानिङ कार्यक्रममा स्वास्थ्य चौकी तथा आधारभूत वडा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।