गण्डकी सामुदायिक सेवा समाज नेपालले कञ्चनपुर जिल्लाका तिन स्थानीय तहमा सर्वसाधारण नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बढ्दो स्वास्थ्य समस्या, आर्थिक अभाव तथा स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै माघ २० गतेदेखि २८ गतेसम्म पुनर्वास बेलौरी र बेल्डाडीमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष केशब प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सर्वसाधारणको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिन उहाँले बताउनुभयो । साथै, चिकित्सकको सिफारिस अनुसार आवश्यक पर्ने औषधि पनि निःशुल्क रूपमा वितरण गरिने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो ।

स्वास्थ्य शिविरमा विशेषगरी सामान्य रोग, मौसमी रोग, ज्वरो, रुघाखोकी, रक्तचाप, मधुमेह लगायतका समस्याको परीक्षण तथा उपचार गरिनेछ । ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुराउने उद्देश्यले शिविर विभिन्न वडामा सञ्चालन गरिन लागेको हो ।

स्वास्थ्य शिविर माघ २० गते पुनर्वास नगरपालिका–८ अन्तर्गत मोतियाफाटा क्षेत्रबाट सुरु हुनेछ । त्यसपछि माघ २१ गते पुनर्वास–७ को परासन क्षेत्रमा, माघ २२ गते पुनर्वास–४ को आनन्द बजार क्षेत्रमा, र माघ २३ गते पुनर्वास–५ स्थित सिमरी गाउँमा शिविर सञ्चालन हुनेछ । यस्तै माघ २५ गते बेलौरी नगरपालिका–२ दिनापुर चारघरुवा क्षेत्रमा, माघ २६ गते बेलौरी–५ शोभाताल क्षेत्रमा र माघ २७ गते बेल्डाँडी गाउँपालिका–२ चौवन्नी खल्ला क्षेत्रमा तथा माघ २८ गते पुनर्वास नगरपालिका–१० र ११ क्षेत्रमा स्वास्थ्य शिविर सम्पन्न गरिने तालिका रहेको छ ।

गण्डकी सामुदायिक सेवा समाज नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै विगत देखि नै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका, वृद्धवृद्धा, महिला, बालबालिका तथा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई लक्षित गरी शिविर आयोजना गरिएको समाजले जनाएको छ ।