धनगढी : सिद्धार्थ बिजनेस ग्रुपले आफ्नो २८ औँ वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। सिद्धार्थ ग्रुपले वार्षिक उत्सवको अवसर पारेर धनगढीमा जिल्ला प्रहरी कार्यालयलाई एक थान प्रहरीबिट हस्तान्तरण गरेको छ।

प्रहरी बिट हस्तान्तरण गर्दै सिद्धार्थ बिजनेस ग्रुपका रिजनल एक्जुकेटिभ डाइरेक्टर केशव न्यौपानेले समाज प्रतिको उत्तरदायित्व अन्तर्गत सुरक्षा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले प्रहरी बिट निर्माण गरिएको बताउनुभयो। उहाँले शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्र र सुरक्षाकर्मीबीचको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले स्थानीय तहमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी बिटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रबाट गरिएको यो योगदान प्रशंसनीय रहेको भन्दै आगामी दिनमा यस्ता सहकार्य अझै बढ्दै जाने अपेक्षा गर्नुभयो।

प्रहरी बिट ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिनाले सिद्धार्थ बिजनेस ग्रुपलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले उक्त प्रहरी बिट सञ्चालनमा आएपछि दैनिक रूपमा प्रहरीलाई ड्युटीमा सहजता हुने पनि बताउनुभयो ।

वार्षिक उत्सव तथा प्रहरी बिट हस्तान्तरण कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, व्यवसायी, सुरक्षाकर्मी तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सिद्धार्थ होटलले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको सन्देश उक्त कार्यक्रममा स्पष्ट रूपमा प्रस्तुत भएको छ ।