कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

 वार्षिक उत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले आफूले अध्यापन गराएको राष्ट्रिय माध्यमिक विद्यालयमा पछिल्लो समय उल्लेखनीय सुधार आएको बताउनुभयो । आफ्नो अध्यापनकाल सम्झँदै उहाँले टायलको छानो, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहयोगबाट विद्यालय स्थापना गरी सञ्चालन गरिएको स्मरण गर्नुभयो ।

नगर प्रमुख शर्माले राष्ट्रिय माध्यमिक विद्यालयसँग आफ्नो छुट्टै किसिमको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै ४८ वर्षको अवधिमा विद्यालयले धेरै नै परिवर्तन र उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले विद्यालयको समग्र विकासका लागि आफूले गर्नुपर्ने भूमिका निर्वाह गर्न सदैव तयार रहेको र आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले विद्यालयको समष्टिगत प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयको प्रगति शिक्षक–शिक्षिकाको मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावकको सहयोगबाट सम्भव भएको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

यस्तै वार्षिक उत्सव कार्यक्रममा बोल्नु हुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक खड्काले विद्यालयको हितका लागि आफूले गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालय सुधारका लागि प्रयास गर्दा अभिभावकबाट अपेक्षित सहयोग नपाएको अनुभव सुनाउँदै विद्यालयको विकास शिक्षक र व्यवस्थापन समितिको मात्रै जिम्मेवारी नभई अभिभावकको सक्रिय भूमिका, सल्लाह र सुझाव अत्यन्त आवश्यक हुने बताउनुभयो । अभिभावक र विद्यालयबीचको सहकार्य बलियो भएमा शैक्षिक गुणस्तर अझ सुधार गर्न सकिने विषयमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अभिभावकहरूले पनि विद्यालय सुधारका लागि आवश्यक सुझाव राख्दै शिक्षक–शिक्षिकाको मेहनतको प्रशंसा गरेका थिए । अभिभावकहरूले आफ्ना बालबालिकाको शैक्षिक उन्नतिका लागि विद्यालयसँग हातेमालो गर्दै सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

वार्षिक उत्सव समारोहका अवसरमा विद्यालयका पूर्व शिक्षक, वर्तमान शिक्षक–शिक्षिका तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा विद्यालयको विकासमा योगदान पुर्याउने व्यक्तिहरूको भूमिका स्मरण गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरिएको थियो।

श्री राष्ट्रिय माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक, शिक्षक–शिक्षिका र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै गुणस्तरीय शिक्षाका लागि सामूहिक जिम्मेवारी र सहकार्यको सन्देश प्रवाह गरेको छ । उक्त समारोहमा अभिभावक, शिक्षक–शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।