कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालयमा चार कोठे नयाँ भवन निर्माण हुने भएको छ । शुक्रबार पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा र पुनर्वास–४ का वडा अध्यक्ष मनोज जैसीले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

भवन शिलान्यास गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख शर्माले विद्यालयको पुरानो भवन जीर्ण अवस्थामा पुगेकाले नयाँ भवन निर्माण गर्न लागिएको बताउनुभयो। पुरानो भवनका कारण पठनपाठनमा समेत समस्या हुँदै आएको आफूलाई जानकारीमा आएपछि नयाँ भवन निर्माण प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।

नयाँ भवन निर्माणका लागि संघीय सरकार अन्तर्गत पुनर्वास नगरपालिकाबाट ५५ लाख रुपैयाँ र विद्यालय व्यवस्थापन समितिबाट ६ लाख ४८ हजार २० रुपैयाँ लागत साझेदारी हुने पुनर्वास नगरपालिकाले जनाएको छ। यसरी कुल ६१ लाख ४८ हजार २० रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कार्कीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिले निर्माण गर्न लागेको उक्त चार कोठे भवन २०८३ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ । नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।