कञ्चनपुरमा पछिल्लो समय सक्रिय हुँदै गएको गुण्डागर्दीको सञ्जाललाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हालै जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले एक्सन र निगरानी तिब्र बनाएका छन्।

शुक्रबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले कञ्चनपुरमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्दै गुण्डागर्दीमाथि कडा एक्सन जारी रहने बताएका छन्। नेपाल प्रहरीभित्र व्यवसायिक प्रहरी अधिकृतको छवि बनाएका शाही केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन्।

जेनजी आन्दोलनपछि महेन्द्रनगर र आसपासका क्षेत्रमा युवाहरू समूह बनाएर संगठित रूपमा सञ्जाल तयार गर्दै फिल्मी शैलीमा गुण्डागर्दी गर्न खोजिरहेको सूचनापछि शाही स्वयं सिभिल ड्रेसमै फिल्डमा खटिएका थिए।

युवाहरूलाई जम्मा गराएर हुलहुज्जत गर्ने, समूह बनाएर सामाजिक सञ्जालमा विभिन्न ग्याङका नाममा फोटो–भिडियो पोस्ट गर्ने गिरोहमाथि डिएसपी शाहीले निगरानी कडा पारे। यही अभियानका क्रममा सामाजिक सञ्जालमा खुँडासहितको भिडियो पोस्ट गरिएको प्रमाणका आधारमा प्रहरीले महेन्द्रनगरका कुनाल अवस्थीसहित तीन जनालाई पक्राउ गरेको जानकारी शाहीले पत्रकार सम्मेलनमार्फत दिए।

“शान्ति र सुशासनका लागि नेपाल प्रहरी सदैव अग्रपंक्तिमा रहन्छ,” उनले भने, “टोले ग्याङ बनाएर समाजमा आतंक फैलाउने जो–कोही पनि कानुनी कारबाहीको दायरामा पर्छन्।”

उनले आफू गुण्डाहरूको ‘प्रोफाइलिङ’ गरिरहेको बताएका छन्। जन्मदिन मनाउने भन्दै महाकाली नदीको चार लेनको पुलमा आवागमन नै बन्द गर्ने कार्य निन्दनीय छ। उनले भने–युवाहरूले जमात बनाएर कानूनले बर्जित गरेका गतिविधि गर्ने कुनै छुट पाउने छैनन्।महेन्द्रनगरमा केही महिनायता विभिन्न समूह बनाएर युवाहरूले कुटपिट र झैझगडा गर्ने क्रम बढेको छ। शाहीले भने, यो समूह भत्किनु पर्छ। यदि यस्ता ग्याङहरूले हामीमाथि नियन्त्रण राख्छन् भने हामी सुरक्षित हुने छैनौं। त्यसैले यस्ता समूहलाई समयमा नै नियन्त्रण र भत्काउनु आवश्यक छ।

डिएसपी शाहीका अनुसार कञ्चनपुरमा गोरिल्ला ग्याङ र ईगल ग्याङ जस्ता समूहहरू देखिन थालेका छन्। यस्ता ग्याङहरूको सक्रियताले आसन्न निर्वाचनमा असर पार्नसक्ने र समाजलाई गलत दिशामा लैजान सक्ने उनले बताए। “गुण्डागर्दी बढे कञ्चनपुर राम्रो समाजतिर अगाडि बढ्न सक्दैन,” शाहीले भने। उनका अनुसार कञ्चनपुरलाई गुण्डाराजबाट जोगाउन प्रहरी निगरानी, कारबाही र शान्ति–सुरक्षा व्यवस्थालाई कडा रूपमा अघि बढाइएको छ। ‘गुण्डाहरुको प्रोफाइलिङ गर्ने, समाजको शान्ति सुरक्षा बिगार्ने तत्वलाई निगरानी बढाउने प्रहरीको केन्द्रीय नेतृत्वबाटै सर्कुलर छ ।
विभिन्न जिल्लामा रहँदा शाहीले गुण्डागर्दीको जालो भत्काउने इन्काउन्टर समेत गरेका घटना छन् । खरो स्वभावका शाही कञ्चनपुरमा पनि गुण्डागर्दी विरुद्ध अभियान नै चलाइरहेका छन्।
युवाहरू जमात बनाएर उदण्ड गतिविधि गर्दैछन् भन्ने विषयमा ख्याल गरिएन भने भविष्यमा यो समाजका लागि ठूलो समस्या बन्न सक्छ। ‘ उनले भने–नेपाल प्रहरी यहाँ उच्च मनोबलका साथ काम गर्छ र शान्ति–सुरक्षा कायम राख्न सक्रिय छ।