कञ्चनपुरको पुनर्वास नगरपालिकाले गरिबी न्यूनीकरण तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ । “आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगारी” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उद्यमशीलता विकास व्यवसाय सचेतना तथा व्यवसाय सुरु तालिम सुरु गरिएको हो ।


तालिमको आयोजना नगरपालिकाको उद्यम तथा श्रम रोजगार प्रवद्र्धन शाखाले गरेको हो । कार्यक्रममा स्थानीय युवाहरु, तथा स्वरोजगार गर्न इच्छुक व्यक्तिहरूको उपस्थिती रहेको थियो । उनिहरुलाई व्यवसाय सञ्चालन सम्बन्धी आधारभूत ज्ञान, सीप विकास, बजार व्यवस्थापन, व्यवसाय योजना निर्माण तथा साना उद्यम सुरु गर्ने तरिकाबारे प्रशिक्षण दिइएको उद्यम बिकास सहजकर्ता बिमला चौधरीले जानकारी दिनुभयो ।

तालिमबाट सहभागीहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्दै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको पालिकाले जनाएको छ । यसले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गरी साना तथा लघु उद्यम स्थापना गर्न प्रेरित गर्ने विश्वास गरिएको उद्यम बिकास सहजकर्ता बिमला चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत सहभागीहरूलाई व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक ज्ञान, उद्यमशील सोचको विकास, सम्भावित व्यवसायको पहिचान, लगानी व्यवस्थापन तथा बजार पहुँचका विषयमा पनि सहजीकरण गरिएको उहाँले बताउनुभयो । नगरपालिका आयोजना गरेको यस्ता कार्यक्रमले स्थानीय आर्थिक गतिविधि बढाउन, बेरोजगारी घटाउन तथा दीर्घकालीन रूपमा गरिबी न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरीएको तालीममा सहभागीहरुले बताएका छन् ।