कञ्चनपुरको पुनर्वास क्षेत्रमा सवारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीले जनाएको छ । 

अबदेखि यहाँका अटो, ट्याक्सी तथा विद्युतीय रिक्सा चालकहरूले अनिवार्य रूपमा आफ्नो गाडी नम्बर र फोन नम्बर देखिने गरी फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीका इन्चार्ज ट्राफिक प्रहरी वरिष्ठ हवलदार दीपक बोहराले जानकारी   दिनुभयो । 

अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनवस्तीका अनुसार यात्रु सुरक्षालाई ध्यानमा राख्दै, सवारी चालकहरूको पहिचान सजिलो बनाउन यो व्यवस्था लागू गरिएको हो । 

साथै सबै अटो, ट्याक्सी तथा विद्युतीय रिक्सा चालकहरूले आफ्नो सवारीमा स्पष्ट रूपमा भाडादर सूची राख्नुपर्ने छ । जसले यात्रुहरूलाई अनावश्यक ठगीबाट जोगाउने अपेक्षा गरिएको ट्राफिक प्रहरी वरिष्ठ हवल्दार बोहराले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार यो नियम लागू भएपछि सुरुवाती एक हप्तासम्म सवारी चालकहरूलाई जानकारी गराउने, सम्झाउने र सचेतना फैलाउने काम गरिनेछ। त्यसपछि पनि नियम उल्लंघन गर्ने चालकहरूमाथि कानुनी कारबाही गरिने ट्राफिक प्रहरी वरिष्ठ हल्दार बोहराले जानकारी दिनुभयो । 

स्थानीयवासीहरूले यो कदमलाई सकारात्मक रूपमा लिएका  छन् । उनीहरूले यसबाट यात्रु सुरक्षामा सुधार आउने र भाडा सम्बन्धी विवाद कम हुने विश्वास व्यक्त गरेका छन् । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लागू गरिएको यो नियमले पुनर्वास क्षेत्रमा सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।