कञ्चनपुरको बेलडाँडीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।  बेलडाँडी –५ झिलमिला क्षेत्रबाट लागुऔषध दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

आईतबार साँझ ७ बजे सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बेलडाँडी गाउँपालिका–५ का ३६ वर्षीय राम बहादुर कठायत र सोही ठाउँका अन्दाजी ३२ वर्षीय हर्क बहादुर बुढालाई पक्राउ गरेको हो । उनीहरूको साथ ५५६ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिओपी झिलमिलबाट सशस्त्र प्रहरी नायब निरीक्षक बर्त घर्ति मगरको कमाण्डमा ५ जना तथा प्रहरी चौकी झिलमिलाबाट प्रहरी सहायक निरीक्षक ललित रोकायाको कमाण्डमा ३ जनाको टोली उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूको साथ बाट भे १३ प ५३०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी झिलमिलामा राखिएको प्रहरीले जनाएको छ ।