विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्यमा खटिन सक्ने स्थानीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालन भइरहेको २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम अन्तर्गत सोमबार Water Rescue Drill कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तालिममा सहभागी बेलौरीका उत्साही युवाहरूले जलजन्य विपद्का समयमा गरिने उद्धारसम्बन्धी विभिन्न व्यावहारिक अभ्यास गरेका छन् ।

Water Rescue Drill अन्तर्गत पानीमा डुब्न लागेको वा बाढीमा फसेको व्यक्तिको सुरक्षित उद्धार, लाइफ ज्याकेट तथा लाइफ ब्वायको प्रयोग, डोरी (रोप) प्रयोग गरी उद्धार गर्ने विधि, पानीमा सुरक्षित तरिकाले प्रवेश तथा बाहिर निस्कने प्रक्रिया, उद्धार टोलीबीच समन्वय, उद्धार सामग्रीको सही प्रयोग तथा आपतकालीन अवस्थाको व्यवस्थापनसम्बन्धी अभ्यास गराइएको थियो । साथै, उद्धारकर्ताको आफ्नै सुरक्षा सुनिश्चित गर्दै पीडितसम्म पुग्ने तरिका, पानीको बहावमा उद्धार कार्य सञ्चालन गर्ने विधि तथा उद्धारपश्चात प्राथमिक उपचारका आधारभूत अभ्यास समेत गरिएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा विभिन्न उद्धार प्रविधिको अभ्यास गर्दै विपद्को बेला आवश्यक पर्ने सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकास गरेका छन्। प्रशिक्षकहरूले बाढी, डुबान तथा अन्य जलजन्य विपद्का घटनामा स्थानीय स्तरमै छिटो र प्रभावकारी उद्धार कार्य गर्न सक्षम स्वयंसेवक तयार पार्नु तालिमको मुख्य उद्देश्य रहेको बताएका छन्।

२१ दिने तालिम अवधिभर विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, आपतकालीन प्रतिकार्य तथा समुदायमा आधारित विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ। स्थानीय युवाहरूको सक्रिय सहभागिताले समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुनुका साथै विपद्का समयमा हुने जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा बेलौरी नगरपालिकाले गरेको छ।