कञ्चनपुरको पुनर्वासमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न  भएको छ ।  पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पुनर्वास -११ मा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणका लागि सरोकारवालाबीच अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी समस्या, त्यसका कारण, प्रभाव तथा आत्महत्याका घटनाहरू रोकथाम गर्न समुदाय स्तरमा अपनाउनु पर्ने उपायका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा मानसिक तनाव, चिन्ता, अवसाद, सामाजिक तथा पारिवारिक दबाब, लागूपदार्थ दुर्व्यसन, बेरोजगारी, हिंसा तथा अन्य विभिन्न कारणले मानसिक स्वास्थ्यमा पर्ने असरबारे सहभागीहरूलाई सचेत गराइएको पुनर्वास नगरपालिकाको जनस्वास्थ्य अधिकृत यज्ञ खडकाले जानकारी दिनुभयो ।

सहभागीहरूलाई मानसिक स्वास्थ्य समस्याका प्रारम्भिक लक्षण पहिचान गर्ने, समयमै परामर्श तथा उपचार सेवामा पहुँच बढाउने र जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सहयोग तथा साथ दिनुपर्ने विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो  । साथै युवावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या,  भविष्यप्रतिको चिन्ता, सामाजिक सञ्जालको प्रभाव, पारिवारिक वातावरण, साथीभाइबीचको सम्बन्ध तथा आत्मविश्वास अभिवृद्धिका उपायबारे समेत छलफल गरिएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास-११ का वडाध्यक्ष तुलसी अर्यालले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभई उपचार र परामर्शबाट सुधार गर्न सकिने बताउनुभयो ।  उहाँले  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहका सदस्यहरूले समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने,  जोखिममा रहेका व्यक्तिहरूको पहिचान गर्ने तथा आवश्यक परामर्श र सेवामा जोड्न महत्वपूर्ण माध्यमका रूपमा काम गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा विशेषगरी कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूहका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रतिनिधिहरू तथा पत्रकारहरू गरी ७५ जनाको उल्लेखनीय सहभागिता रहेको थियो।