कञ्चनपुरको पुनर्वासमा एकदिने निःशुल्क चिकित्सकिय प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना, पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखा र आधारभुत स्वास्थ्य केन्द्र पुनर्वास–११ अमरवस्तीको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा २ सय ८४ जना महिलाहरुले सेवा लिएका छन् ।

उक्त निःशुल्क चिकित्सकिय प्रजनन् स्वास्थ्य शिविरमा ओपिडी सेवा, पाठेघर खस्ने समस्या तथा अव्स्ट्रेटिक फिस्टुलाको स्क्रिनिङ, रिङपेशरी सेवा प्रदान गरीएको स्वास्थ्य कार्यालय कञ्चनपुरको पब्लीक हेल्थ नर्सिङ्ग निरिक्षक आरती पाण्डेयले बताउनुभयो । यस्तै शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचान तथा जाँच सम्बन्धि सेवा, गर्भवती महिलालाई अल्ट्रासाउण्ड सेवा, स्त्रीरोग सम्बन्धि चिकित्सकिय सेवा समेत उपलब्ध गराइएको थियो । यौन रोगहरुको जाँच तथा उपचार सेवाका साथै प्रजनन् स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत उपलब्ध गराएको उहाँले बताउनुभयो ।

यस्तै शिबिरमा १० जना गर्भवती महिलाहरुले अल्ट्रासाउण्ड सेवा लिएको आधारभुत स्वास्थ्य केन्द्र पुनर्वास–११ अमरवस्तीका प्रमुख (सिनियर अहेब) हरीभक्त अवस्थीले जानकारी दिनुभयो । शिविरमा १ सय ३७ जनाले पाठेघर खस्ने समस्या तथा अव्स्ट्रेटिक फिस्टुलाको स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सर पहिचान तथा जाँच सम्बन्धि सेवा लिएको उहाँले बताउनुभयो । जसमध्ये ७ जना अवस्था शंकास्पद भेट्टीएको र थप उपचारका लागी रेफर गरीएको उहाँले बताउनुभयो । शिबिरमा २ सय १२ जनालाई आवश्यक औषधी बितरण गर्नुका साथै यौन रोग, प्रजनन् स्वास्थ्य सम्बन्धि परामर्श सेवा उपलब्ध गराएको उहाँले बताउनुभयो ।