कञ्चनपुरको पुनर्वासमा पृथ्वी महिला उद्यमी कृषक समूहद्वारा सञ्चालित “पृथ्वी महिला उद्यमी कृषक पाठशाला” को औपचारिक रूपमा समापन गरीएको छ । कृषि क्षेत्रमा महिलाको सहभागिता बढाउन, उनीहरूको सशक्तिकरण गर्न र व्यवसायिक कृषिका विविध आयाममा दक्षता विकास गर्न लक्षित गरी उक्त कार्यक्रम गरीएको पुनर्वास नगरपालिकाले जनाएको छ ।

सो कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले कृषक पाठशाला कृषि शिक्षाको नयाँ मोडेल भएको बताउदै महिला कृषकहरूलाई आत्मनिर्भर, सीपयुक्त र व्यवसायमुखी बनाउन महत्वपूर्ण योगदान पुराएको बताउनुभयो ।  कृषक पाठशालाले कृषक महिलालाई कृषि उद्यममा नेतृत्वदायी भूमिकामा ल्याउन सहयोग गरेको पुनर्वास–८ का वडाध्यक्ष राना श्रवणले बताउनुभयो । उनीहरूलाई कृषि प्रविधि अपनाउन प्रेरित गर्नु तथा स्थानीय स्तरमा कृषि उत्पादकत्व वृद्धि गर्न तालीमले महत्वपुर्ण भुमीका खेलेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलक प्रसाद रिजालले कृषक पाठशालाले ग्रामीण क्षेत्रका महिला कृषकहरूलाई ज्ञान, सीप र उनीहरूलाई उद्यमशीलताको बाटोमा अघि बढाएको बताउनुभयो । महिलाहरू खेतीपातीको मेरुदण्ड भएको बताउदै उनीहरूको सीप र श्रमलाई प्राविधिक ज्ञान र व्यवसायिक सोचसँग जोड्न सके कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने उहँले बताउनुभयो ।

समापन कार्यक्रममा सहभागी महिला कृषकहरूले आफ्ना अनुभवहरू प्रस्तुत गर्दै पाठशालाले आफुहरुलाई सकारात्मक परिवर्तनका सहयोग गरेको बताएका छन् । तालिमले उनीहरूलाई तरकारी खेती गर्न र सो खेतीबाट कसरी फाइदा लिन सकिन्छ ? भन्ने कुराहरु सिकाएको सहभागीहरूले बताएका छन् ।एक बाली बेर्ना राखेर उत्पादन गरुन्जेल सम्मको कम्तीमा ४ महिना अवधिभर कृषक पाठशाला सञ्चालन भएको थियो । पाठशालामा आधुनिक खेती प्रणाली, जैविक कृषि, तरकारी खेती, माटो परीक्षणका बिषयमा तालीम प्रदान गरीएको पालिकाको निमित्त कृषी शाखा प्रमुख ललीता चौधरीले बताउनुभयो । यस्तै बालीमा आबश्यक मल र विषादीको वैज्ञानिक प्रयोग, सिँचाइ व्यवस्थापन, बजारिकरण सम्बन्धी विषयहरूमा तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा पाठशालामा सहभागी कृषकहरु, कृषि शाखाका कर्मचारीहरु, कृषी विज्ञ, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो ।