“सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने मूल नाराका साथ कञ्चनपुरको पुनर्वास नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले पछिल्लो समय नियतबस मुद्दा हाल्ने प्रवृति बढिरहेको बताउदै, गलत नियतले उजुरी दिने व्यक्तिहरूमाथि पनि कारबाही हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले यस्ता कार्यक्रमहरूले पालिका स्तरमा उत्पन्न हुन सक्ने समस्याबाट बच्न सचेतना जगाउने अपेक्षा गरिएको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख बेद प्रसाद भण्डारीले सहभागीहरुले उठाएका जिज्ञासाहरुको विस्तृत रुपमा जवाफ दिनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, पालिकाका कर्मचारी, विभिन्न संघ(संस्थाका प्रतिनिधि, विभिन्न समिति सदस्यहरू, विद्यालय तथा सामुदायिक वनका अध्यक्षहरू, स्थानीयवासी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।