कञ्चनपुरको पचकडिया स्थित कुण्डा सबडिभिजन वन कार्यालयमा वन्यजन्तु उद्धार सम्बन्धी तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा भएको तालिममा वन्यजन्तु उद्धारमा प्रत्यक्ष रुपमा संलग्न हुने विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वन्यजन्तु उद्धारको क्रममा अपनाउनु पर्ने सुरक्षा उपायका बिषयमा तालीम दिइएको कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका प्रमुख वन अधिकृत दिनेश कुमार यादबले बताउनुभयो । वन्यजन्तु उद्धारका लागि आवश्यक सामग्रीको प्रयोग, जनावरको अवस्था अनुसार प्राथमिक उपचार र स्थानान्तरण प्रक्रिया बारे तालिम दिइएको हो । साथै, वन्यजन्तु उद्धारको समयमा मानवीय सुरक्षालाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा पनि विस्तृत जानकारी प्रदान गरिएको उहाँले बताउनुभयो ।

तालिमको मुख्य उद्देश्य वन्यजन्तु उद्धार कार्यमा संलग्न निकायहरूबीच समन्वय अभिवृद्धि गर्नु, उद्धार प्रक्रियामा दक्ष जनशक्ति तयार गर्नु र मानवीय तथा वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नु रहेको कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका प्रमुख वन अधिकृत यादबले बताउनुभयो ।

तालिममा सबडिभिजन वन कार्यालयका कर्मचारीहरू, सामुदायिक वनका प्रतिनिधिहरु, बनहेरालुहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाहरू गरी २५ जनाको उपस्थिति रहेको थियो ।