हरिश चन्द्र बाग : कञ्चनपुरमा सर्पको टोकाईबाट एक महिलाको मृत्युभएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुत्न लागेकी एक महिलाको सर्प दंशबाट मृत्यु भएको छ । करेत जातको विषालु सर्पले टोकेपछि २८ वर्षीया कमला दमाईको अकालमै मृत्यु भएको हो ।

स्थानीय युवा सुचित्र सिंहका अनुसार महिनावारी भएको बेला कमला छाउपडीको गलत अभ्यास स्वरूप छिमेकीको घरछेउमा रहेको छाउगोठमा सुत्न गएकी थिइन् । त्यहाँ सुत्न लागेको बेलामा सर्पले गालामा टोकेपछि तत्कालै उनलाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो तर, उपचारकै क्रममा शनिबार राति करिब ८ बजेको समयमा उनको मृत्यु भएको जनाइएको छ ।

कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् । यो घटना पश्चिम नेपालमा अझै जीवित रहेको छाउपडी प्रथाको हृदय विदारक उदाहरण हो । महिनावारी भएका महिलालाई अपवित्र ठानी घरपरिवार र समाजबाट टाढा राखिने यो प्रथा महिलाको स्वास्थ्य, सुरक्षा तथा जीवनमाथिकै खेलबाडका रूपमा लिइएको छ ।

संविधानले प्रत्याभूत गरेका आधारभूत मानव अधिकारको उल्लङ्घन हुने गरी महिलालाई अपमानजनक र खतरापूर्ण अवस्थामा बस्न बाध्य बनाउने यो अमानवीय अभ्यास तत्काल अन्त्य हुन आवश्यक छ । यस घटनाले पुनः पुष्टि गरेको छ कि, छाउपडी अब परम्परा मात्रै होइन, यो त ज्यान लिने अभिशाप पनि बनिसकेको छ । यस्तो हानिकारक प्रथाको अन्त्यका लागि सरकार, समाज तथा सबै नागरिकको साझा प्रयास जरुरी छ ।