“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारा सहित २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कञ्चनपुरको पुनर्वासमा विभिन्न कार्यक्रम सहित भव्यता पूर्वक मनाइएको छ।

दिवसको अवसरमा पुनर्वास–११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वडाभित्रका महिलास्वास्थ्य स्वयंसेविकाबीच हाजिरी–जवाफ प्रतियोगिता आयोजना गरिएको स्वास्थ्य सेवा केन्द्र पुनर्वास ११ का प्रमुख हरिदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सम्बन्धी विषयवस्तुमा आधारित प्रतियोगिताले स्वयंसेविकाहरूको अद्यावधिक ज्ञान कत्तिको छ भन्ने मूल्यांकन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रमअन्तर्गत आयोजित हाजिरी–जवाफ प्रतियोगितामा प्रथम पदमा पाठक, द्वितीय शान्ति ढुङ्गेल र तृतीय स्थानमा गोमा देवी भट्टराई विजयी हुनुभएको थियो । विजेताहरूलाई सम्मानवसहित पुरस्कार प्रदान गरिएको सेवा केन्द्रले जनाएको छ ।

विजयी स्वयंसेविकाहरूलाई धन्यवाद ज्ञापन गर्दै पुनर्वास नगरपालिका–११ का वडा अध्यक्ष तुलसी अर्यालले महिला स्वास्थ्य स्वयंसेविका लाई गाउँघरको पहिलो डाक्टरका रूपमा चिनिने बताउँदै स्थानीय स्वास्थ्य अवस्था बुझ्न तथा समुदायमा स्वास्थ्य सेवा प्रवर्द्धन गर्न उहाँहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

पालिकाले यस वर्षदेखि दिवसलाई वडा स्तरमै विशेष कार्यक्रम सहित मनाइएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले जानकारी दिनुभयो । हरेक वर्ष पालिका स्तरमा मनाइँदै आएको भए पनि यसपटक स्थानिय सहभागिता बढाउने उद्देश्यले वडा तहमै कार्यक्रम गरिएको उहाँले बताउनुभयो । समुदाय स्वास्थ्य सेवामा महिलाको सक्रियता सहित दिवसले स्थानीय स्वास्थ्य प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।