कञ्चनपुरको पुनर्वासमा TB Free पालिका अभियान अन्तर्गत AI मा आधारित Digital X-ray शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा तथा पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा TB Free पालिका अभियान अन्तर्गत शनिबार पुनर्वास-२ स्थित सहरी स्वास्थ्य केन्द्रमा क्षयरोग (TB) जाँच तथा AI मा आधारित Digital X-ray शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।

शिविरमा २१८ जनाले AI मा आधारित Digital X-ray सेवा लिएका थिए । जाँचका क्रममा २४ जनामा फोक्सोमा क्षयरोग (TB) जस्तै दाग देखिएको र थप पुष्टि (Confirm Diagnosis) का लागि Gene Xpert परीक्षणका लागि खकारको नमूना संकलन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। तीमध्ये ११ जना महिला र १४ जना पुरुष रहेका छन्। शिविर अवधिभर डा. दिलीप देउबाले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। उहाँले समयमै क्षयरोगको पहिचान गरी उपचार सुरु गर्न सकेमा रोग पूर्ण रूपमा निको पार्न सकिने बताउँदै जोखिम समूहका व्यक्तिहरूले नियमित जाँच गराउनुपर्नेमा जोड दिनुभयो।

सहरी स्वास्थ्य केन्द्रको प्रमुख लक्ष्मी गौडेलले TB Free पालिका अभियान अन्तर्गत समुदायबस्तरमै यस्ता शिविर सञ्चालन गर्दा क्षयरोगको समयमै पहिचान तथा नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार AI मा आधारित Digital X-ray प्रविधिले छिटो, सहज र प्रभावकारी रूपमा रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।कार्यक्रममा पुनर्वास नगरपालिकाक जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले शिविर सफलतापूर्वक सञ्चालन गरिदिएकोमा स्वास्थ्य कार्यालय कञ्चनपुरलाई धन्यवाद व्यक्त गर्नुभयो । पुनर्वास नगरपालिका क्षयरोगको दृष्टिले संवेदनशील क्षेत्र भएकाले जिल्लाले पुनर्वासलाई प्राथमिकतामा राखी यस्ता जनस्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो।

यसैबीच, शुक्रबार अभिमुखीकरण समेत गरिएको थियो । अभिमुखीकरणपछि स्वयंसेविकाहरूले समुदायस्तरमा नाम दर्ता, जोखिम समूह पहिचान तथा सेवाग्राहीलाई शिविरसम्म ल्याउन सक्रिय भूमिका निर्वाह गरेको स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले जानकारी दिनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अन्य वडाहरूमा पनि स्वास्थ्य शाखाको बजेटबाट यस्ता कार्यक्रमहरू पुनः सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायको सहकार्यमा सञ्चालन गरिएको यस प्रकारको शिविरले TB Free पुनर्वासको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।