धनबहादुर बिक : कञ्चनपुरको पुनर्वासमा नगर स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । आइतबार एक कार्यक्रमका बिच “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित पुनर्वास–६ मा रहेको श्री जिबन ज्योति माविको खेलमैदानमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता उद्घाटन गरीएको छ । पुनर्वासका २६ माध्यमिक तहका बिद्यालयहरु मध्ये २० बिद्यालय सहभागी रहेको प्रतियोगितामा सहभागी बिद्यालयले मार्चपास, मसाल दौड प्रदर्शन गरेका थिए । बिद्यार्थीहरूको मार्चपासलाई पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले सलामी दिनुभएको थियो ।

नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथीको आसनबाट नगर प्रमुख शर्माले खेल मानव जीवनका लागि अनिवार्य रहेको र यसलाई अघि बढाउन खेलकुदको निकै महत्व रहेको बताउनुभयो । यस्ता प्रतियोगिताहरूले वास्तवमा ओझेलमा परेका खेलाडीहरूलाई अघि बढ्नको निम्ति उपयुक्त वातावरण तयार पार्ने गरेको उहाँले बताउनुभयो । नगरस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रको नाम राख्नमा समेत टेवा पुग्ने बिश्वास लिएको उहाँ बताउनुहुन्छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजक बिद्यालयका प्रध्यानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिव भरत कुमार बस्नेतले प्रतियोगिताका सम्पूर्ण खेलाडीलाई अनुशासनका साथ खेल सम्पन्न गर्न अनुरोध गर्नुभयो । नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगर स्तरीय खेलकुद विकास समिति सदस्य हरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, सहभागी बिद्यालयका शिक्षक शिक्षिकाहरु, समाजसेवी , खेलप्रेमि, पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।