कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा एकदिने पशु स्वास्थ्य शिविर के समय अघि सम्पन्न भएको छ । पुनर्वास नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (Needs Nepal) को समन्वयमा शिविर आयोजना गरिएको हो ।

“भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाउ” भन्ने नारा सहित आयोजित उक्त शिविर आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना अन्तर्गत सञ्चालन गरिएको शिविरले स्थानीय कृषकहरूलाई उल्लेखनीय राहत पुर्‍याएको छ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरबहादुर विकले मानव जीवनमा पशु स्वास्थ्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै घरपालुवा जनावरहरू प्रत्यक्ष रूपमा मानव जीवनसँग जोडिएको बताउनुभयो । त्यसैले पनि पशु स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो।

शिविरमा ३ सय घरधुरीले आफ्ना पशुचौपायाको उपचार गराएका थिए भने झण्डै एक हजारभन्दा बढी पशुचौपायालाई उपचार तथा आवश्यक औषधि वितरण गरिएको थियो । कार्यक्रममा ७२८ पशुमा जुम्रा–किर्नाको औषधि वितरण गरिएको थियो भने ७६२ पशुलाई जुकाको औषधि उपलब्ध गराइएको थियो।

त्यस्तै, २० वटा बोकालाई खसी बनाइएको, २६८ पशुचौपायालाई बि–कम्प्लेक्स दिइएको र १४५ पशुमा भोक नलाग्ने (एनोरेक्सिया) समस्याको उपचार गरिएको जनाइएको छ । साथै ३० पशुमा ज्वरो लगायतका विभिन्न रोगहरूको पनि उपचार गरिएको थियो ।

स्थानीय कृषकहरूले यस्ता शिविरले पशुपालनमा सहजता ल्याउनुका साथै आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुगेको बताएका  छन् ।