कञ्चनपुर : क्षयरोग उन्मूलनतर्फको अभियानलाई थप प्रभावकारी बनाउँदै पुनर्वास नगरपालिकामा एआई एक्स-रे (AI X-ray) प्रविधिमार्फत तीन दिने खोजपड्ताल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल सरकारले सन् २०५० सम्म देशलाई क्षयरोग मुक्त बनाउने दीर्घकालीन लक्ष्यअनुरूप सञ्चालन गरिएको उक्त कार्यक्रम वैशाख ८ देखि १० गतेसम्म सञ्चालन गरिएको हो। समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको शिविरमा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरू—वडा नं. ९, वडा नं. ८ र वडा नं. ७—बाट कुल ५४७ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

शिविरमा आधुनिक एआई प्रविधिको प्रयोग गरी छिटो र प्रभावकारी रूपमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ महिला र २ पुरुष गरी ३ जनामा क्षयरोग संक्रमण पुष्टि भएको छ। पहिचान भएका सबै बिरामीलाई तुरुन्तै क्षयरोग नियन्त्रण कार्यक्रममा दर्ता गरी आवश्यक उपचार सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले जानकारी दिएका छन्।

यसैगरी, परीक्षण गरिएका व्यक्तिहरूमध्ये थप शंकास्पद देखिएका २९ महिला र २३ पुरुष गरी कुल ५२ जनालाई ‘जीन एक्सपर्ट’ (GeneXpert) प्रविधिबाट विस्तृत जाँचका लागि सिफारिस गरिएको छ।

कार्यक्रममा डा. दिलिप देउवा, रेडियोग्राफर निरीक्षक बिरेन्द्र चन्द लगायत प्राविधिक टोली तथा नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काका अनुसार समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै लुकेर रहेका क्षयरोगका बिरामी पहिचान गर्न यस्ता अभियान प्रभावकारी देखिएका छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै पूर्ण क्षयरोग मुक्त नगरपालिका बनाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो।