कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सिकलसेल एनेमिया तथा थालासेमिया सम्बन्धी खोजपडताल तथा रगत परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

वंशाणुगत रक्तजन्य रोगहरूको समयमै पहिचान तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कार्यक्रम स्वास्थ्य क्षेत्रको महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

उक्त रक्त परीक्षण शिविरमा कुल ३ सय ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा २०५ जना महिला र १७० जना पुरुष सहभागी भएका थिए ।

परीक्षणका क्रममा ३८ जनामा सिकलसेल/थालासेमिया ट्रेट (Trait) देखिएको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रेट देखिएका सबै ३८ जनाको थप पुष्टि (confirmation) का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको छ ।

उक्त कार्यक्रमको सभापतित्व वडा नं. ८ का वडा अध्यक्ष राना श्रवणले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी राना रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा निमेष सामुदायिक अस्पतालका सञ्चालक डा. फुलराम चौधरीको उपस्थिति रहेको थियो।क

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनस्वास्थ्य अधिकृत खड्काले स्वास्थ्य शाखाद्वारा पछिल्लो समय विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो । यस्ता शिविरबाट रोगको समयमै पहिचान गर्न मद्दत मिल्नुका साथै समुदायस्तरमा जनचेतना विस्तारका प्रयास भएको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख भुलिया कु. रानाले सिकलसेल एनेमिया तथा थालासेमिया विशेषगरी राना थारु समुदायमा बढी जोखिमपूर्ण देखिएको उल्लेख गर्दै यस रोगको नियन्त्रणका लागि सबै वडामा नियमित परीक्षण कार्यक्रम विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयोब। उहाँले आगामी बजेटमा यस कार्यक्रमलाई प्राथमिकताका साथ समेटिने बताउनुभयो ।

त्यस्तै, विशिष्ट अतिथि डा. फुलराम चौधरीले कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकोमा पुनर्वास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै सिकलसेल तथा थालासेमिया रोगबारे विस्तृत जानकारी प्रदान गर्नुभयो।

उहाँले यी रोगहरू वंशाणुगत प्रकृतिका भएकाले समयमै परीक्षण, परामर्श तथा रोकथामका उपायहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अनुभव समेत साझा गर्नुभयो।

कार्यक्रमका सभापति तथा पुनर्वास ८ का वडा अध्यक्ष राना श्रवणले आफ्नो वडामा कार्यक्रमलाई प्राथमिकता दिई सञ्चालन गरिएकोमा नगरपालिका र स्वास्थ्य शाखाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र दिगो स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

समग्रमा, उक्त कार्यक्रमले सिकलसेल एनेमिया तथा थालासेमिया जस्ता वंशाणुगत रक्तजन्य रोगहरूको पहिचान, रोकथाम र नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस प्रकारका कार्यक्रमहरूले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन रूपमा रोग न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।