कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार क्षेत्रका लागि ढल निकास प्रशोधन केन्द्र बन्ने भएको छ। बुधबार एक कार्यक्रमका बीच पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले उक्त प्रशोधन केन्द्रको शिलन्यास गर्नुभएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले ढल निकास र प्रशोधन केन्द्र बनाउनका लागि नगरपालिकाले आयोजनालाई जग्गा उपलब्ध गराएको छ । अब छिट्टै नै टाउन बजार क्षेत्रको पनि ढल निकासको कार्यले गति लिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।


उच्चकोटी निर्माण सेवा धनगढीले ठेक्का पाएर यतिबेला काम सुरु गरेको छ। २०७६/७७ मा ठेक्का सम्झौता भएपनि जग्गा नपाउँदा सो आयोजना रोकिएको थियो। तर पालिकाको पहलमा जग्गा पाएपछि आयोजनाले गति लिनेमा आफू विश्वस्त भएको नगरप्रमुख शर्माले बताउनुभयो। जग्गा प्राप्तिको लागि संघीय सरकारको क्याबिनेट डिसिजनबाट पुनर्वास वार्ड नं ५ लोकतान्त्रिक मार्ग सँग जोडिएको जमिन नगरपालिकाको तर्फबाट आवश्यक कानुनी प्रक्रिया पुरा गरी अधिकरण गरेर उपलब्ध गराएको नगरप्रमुख शर्माले बताउनुभयो। झन्डै १० करोड लागतमा ढल निकास तथा प्रशोधन केन्द्र बन्ने भएको छ। यो आयोजना आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ।