पछिल्लो समय पुनर्वास नगरपालिकाले विद्यालय अनुगमनलाई तीव्रता दिएको छ। केही दिनदेखि नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्ष तथा शिक्षा शाखा र सरोकारवाला निकायहरूको संयुक्त अनुगमन हुँदै आएको छ ।  पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाको नेतृत्वमा फाल्गुन १३ गते मङ्गलबार पुनर्वास १० मा रहेको विजय माध्यमिक विद्यालयमा अनुगमन भएको थियो।यस्तै फाल्गुन २० गते मङ्गलबार नै पुनर्वास ९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा नगर उपप्रमुख शिक्षा शाखा प्रमुख र वडा अध्यक्ष सहितको टिमले अनुगमन गरेको छ।

यस्तै फाल्गुन २१ गते बुधबार आजै मात्र नगर उपप्रमुख सहितको टोलीले पुनर्वास ११ अमर बस्तीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अनुगमन गर्नुभएको छ ।
त्यस्तै आज नै नगर प्रमुख तोय प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहितको टोलीले पुनर्वास ५ मा रहेको मदन आश्रित आधारभूत विद्यालयको समग्र शैक्षिक अवस्थाको बारेमा अनुगमन गर्नुको साथै आवश्यक सुधार गर्नुपर्ने पक्षहरूको बारेमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुलाई निर्देशन दिनु भएको छ।

यस्तै सोही विद्यालयमा पुनर्वास नगरपालिका र बिल्डअन नेपाल बीचको साझेदारीमा बन्दै गरेको भवनको भौतिक प्रगती, गुणस्तर, श्रमिकको उपलब्धता लगायत विद्यालयका अन्य समसामयिक विषयमा छलफल गरी पालिकाको तर्फबाट समस्या समाधानका लागि निरन्तर सकारात्मक सहयोग गर्न प्रतिबद्ध रहेको नगर प्रमुख शर्माले बताउनुभयो ।


यता नगर उपप्रमुख भुलियाकुमारी रानाले पछिल्लो समय विद्यालयमा अनुगमन बढ्दै गएको छ नि भन्ने हाम्रो प्रश्नमा, परीक्षा नजिकिँदै गर्दा विद्यालयमा भइरहेको काम कारबाही र गतिविधिहरू बुझ्नु र आवश्यक निर्देशन दिन अनुगमन गरिरहेको बताउनुभयो । अनुगमनको क्रममा विद्यालयमा शिक्षक शिक्षिका समयमा आए नआएको, विद्यार्थीहरूसँगको अन्तरक्रिया, उनीहरूले दिएको सुझाव सङ्कलन र आवश्यक काम कारबाहीका लागि सहजता निर्माण गर्नका लागि अनुगमन फलदायी हुने भएकाले यसतर्फ जोड दिएको उहाँले बताउनुभयो।