कञ्चनपुरको पुनर्वास नगरपालिकामा कृषि तथा पशु विकासमा आधारित “आत्मनिर्भर पुनर्वास कार्यक्रम”ले ग्रामीण महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित यस कार्यक्रमले कृषि र पशुपालनलाई व्यवसायिक बनाउँदै महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई गाउँगाउँसम्म विस्तार गरेको छ । यही कार्यक्रमबाट प्रेरित भएर आफ्नो जीवनशैली परिवर्तन गर्ने प्रतिनिधि पात्रमध्यकोे एक हुन् पुनर्वास–३, रामवस्तीकी राममाया तामाङ ।

 रामवस्ती स्वाबलम्बी महिला (मूल) समूहकी सदस्य रहेकी राममायाले लामो समय देखि खेती किसानी सँगै बाख्रा, भैँसी र बङ्गुर पालन गर्दै आएकी छन् । श्रीमान, छोराबुहारी र नाति नातिना सँग बस्दै आएकी उनी पहिले मुख्य रूपमा उखु खेती गर्थिन् । तर “आत्मनिर्भर पुनर्वास कार्यक्रम”मा आबद्ध भएपछि उनले खेतीको स्वरूप परिवर्तन गर्दै केराखेती सुरु गरिन् । हाल उनले करिब डेढ कट्ठा जमिनमा केराखेती गरेकी छन् । केही समय अघि मात्रै केराले उत्पादन दिन थालेकाले अहिले नै आम्दानी यति हुन्छ भनेर यकिन गर्न नसके पनि भविष्य प्रति उनी निकै आशावादी छिन् । उत्पादन राम्रो भए आगामी वर्षहरूमा खेतीको क्षेत्रफल अझ विस्तार गर्ने योजना रहेको उनी बताउँछीन् । “सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । काम सानो वा ठूलो हुँदैन, मेहनत गर्ने इच्छा हुनुपर्छ,” राममाया भन्छिन् । उनको विचारमा कृषि क्षेत्रमा धैर्य र निरन्तरता भए परिवारको आर्थिक अवस्था सुधार्न धेरै सम्भावना रहेको छ ।

कार्यक्रम अन्तर्गत उनले आधारशिला तालिम सँगै बाख्रा तथा प्रजननयोग्य बोका पालनसम्बन्धी आवश्यक तालिम प्राप्त गरेकी छन् । तालिमले कृषि तथा पशुपालनलाई व्यवसायिक रूपमा सञ्चालन गर्ने आत्मविश्वास बढाएको उनी बताउँछिन् । यही कार्यक्रम मार्फत समूहका सदस्यहरूले केराका बिरुवा, सुधारिएको गोठ, बाख्रा खोर, प्रजननयोग्य बोका तथा बाख्रा लगायतका विभिन्न सहयोग प्राप्त गरेका छन, जसले उनीहरूको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । रामवस्ती स्वावलम्बी महिला (मूल) समूहलाई उत्कृष्ट र सक्रिय बनाउन पुनर्वास नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको भन्दै राममाया स्थानीय सरकारप्रति आभारी छिन् । “हामीलाई आवश्यकता अनुसार सहयोग गर्ने पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र निड्स नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । उहाँहरूको सहयोगले हामी जस्ता ग्रामीण महिलाले नयाँ काम गर्ने हौसला पाएका छौं,” उनी भन्छिन् ।

उनका अनुसार समूहमा आबद्ध भएपछि महिलाहरूबीच सहकार्य, बचत, सीप विकास र व्यवसायिक सोचको विकास भएको छ । यसले महिलालाई घरधन्दामा मात्र सीमित नराखी आफ्नै मेहनतबाट परिवारको आम्दानी बढाउने वातावरण सिर्जना गरेको छ । राममाया तामाङको यात्रा अहिले प्रारम्भिक चरणमै भए पनि उनले थालेको केराखेतीले भविष्यमा राम्रो आम्दानी दिने विश्वास लिएकी छन् । उखु खेतीबाट व्यवसायिक केराखेती तर्फको उनको यात्रा परिवर्तनको एउटा सशक्त उदाहरण बनेको छ । सही अवसर, आवश्यक तालिम र स्थानीय सरकार तथा विकास साझेदारको साथ पाए ग्रामीण महिलाले आफ्नै गाउँमा बसेर पनि सम्मान जनक आम्दानी गर्न सक्छन् भन्ने सन्देश राममायाको अनुभवले स्पष्ट पारेको छ । “आत्मनिर्भर पुनर्वास कार्यक्रम”ले यस्तै सयौं महिलाको जीवनमा नयाँ आशा, आत्मविश्वास र आत्मनिर्भरताको आधार तयार गरिरहेको देख्न सकिन्छ ।